मलंगवा : सर्लाही प्रहरीले स्रोत नखुलेको नेपाली साढे सात लाख रुपियाँसहित हिजो मंगलबार दिउँसो एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
नेपाल–भारत सीमा दशगजा नजिक मलंगवा नगरपालिका–८ स्थित प्रहरी चौकी गोरखकाली अगाडि चेकजाँचका क्रममा भारत बिहार सीतामढीका २२ वर्षीय चन्दनकुमार महतो पक्राउ परेका हुन्।
मलंगवा–सोनवर्षा नाका हुँदै बीआर ३० ए बी ९१८३ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका महतोको शरीर खानतलासी गर्दा पाइन्टभित्र लुकाएर ल्याएको ७ लाख ५८ हजार ३१० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए ।
उनलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय मलंगवामा जिम्मा लगाइएको छ ।
युवकको साथबाट बरामद भएको स्रोत खुल्न नसकेको रकम अवैध हुण्डी कारोबारमा प्रयोग गर्न बोकेर हिँडेको हुन सक्ने प्रहरीको आशंका छ ।