सर्लाही : गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न थालेको छ।
केही दिनदेखि पानी नपर्दा तराईसँगै मध्यपहाडमा गर्मी चर्किएको छ। तराईका केही ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ।
धेरै सहरको तापक्रम ४० डिग्री हाराहारीमा छ। मध्य पहाडी क्षेत्रमा समेत गर्मीले नागरिक हैरान भएका छन्। तराई मधेसका जिल्लामा केही दिनयता बिहानदेखि बेलुकासम्म नै टन्टलापुर घाम लाग्ने गरेको छ।
यसले गर्दा तातो हावा चल्ने र लु लाग्ने सम्भावना धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।