महोत्तरी । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ । महोत्तरीको भंगहा नगरपालिका १ कविलासीकी ४० वर्षीया जगतारन देवी साहले बाक्सी आरोपमा आफूमाथि कुटपिट भएको दाबी गरेकी हुन् ।
कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ । गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमा पसेर आफूमाथि कुटपीट गरेको घाइते जगतारनले बताइन् ।
कुटपीट गर्ने राजेशको आफन्तका दुई महिनाअघि दुई महिने शिशुको मृत्यु भएको थियो । त्यसैबेलादेखि उनले टुनामुना लगाएको भन्दै बोक्सी भनेर गालीगलोज गर्ने गरेका थिए ।
उनलाई सोमबार घरमै पसेर गालीगलोज गर्दै आफूमाथि लात, मुक्का, फाइटले शरीरको विभिन्न भागमा कुटपिट गरी घाइते बनाएको पीडित जगतारनको आरोप छ । जगतारको पति वैदेशिक रोजगारीमा छन् ।
यता महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जगतारनमाथि समान्य विवादमा कुटपिट भएको बताए । उनले घटनाको सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाउने बताए ।