सप्तरी : बकर इद अर्थात् इद ऊल जोहाकै दिन फलामको हतियार प्रहारबाट गम्भीर घाइते भएका राजविराजका एक युवकको शुक्रबार मृत्यु भएको छ।
झडपमा घाइते भएका राजविराज नगरपालिका-४ का ३२ वर्षीय औरंगजेब मियाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो।
राजविराज नगरपालिका-२ राजदेवी टोलस्थित रोयल इनफिल्ड राजविराज अटोमोबाइलका प्रोपाइटर उनी बुलेट मोटरसाइकलका डिलर हुन्। मृतकका श्रीमती र काखे शिशुसहित दुई नाबालक सन्तान छन्।
मृतकका बुबा हबिब मियाले दिएको उजुरीका आधारमा हत्या गरेको आरोपमा राजविराज-३ का ४६ वर्षीय मो नसिर पक्राउ परेका छन्। नसिर भने रेडिमेड कपडा व्यापारी हुन्।
अन्य आरोपितहरू राजविराज-३ का ३५ वर्षीय मो इर्शाद, राजविराज-२ का २७ वर्षीय असलम मिया र सप्तरीकै राजगढ गाउँपालिका-६ का २५ वर्षीय मो मिन्टु फरार रहेका छन्।
घटना राजविराज नगरपालिका-३ स्थित माछा हटियामा घटना भएको हो।
हतियार प्रहारबाट घाइते औरंगजेबलाई थप उपचारका लागि विराटनगर पठाइए पनि उपचारका क्रममा विराटनगरमै उनको घटना भएको चार दिनपछि मृत्यु भएको हो।