पूर्वभूमिसुधार राज्यमन्त्री रायको हत्यारा सार्वजनिक

मलंगवा : प्रहरीले पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यारा सार्वजनिक गरेको छ।

विगत १० वर्षदेखि पूर्वराज्यमन्त्री रायको सहयोगीको रुपमा काम गर्दै आएका २५ वर्षीय राम उजैन रायले नै हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंहले जानकारी दिएका हुन्।

सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन राखेर प्रहरीले अनुसन्धानमा हालसम्म भएका प्रगति विवरण सार्वजनिक गरेको छ ।

प्रहरीले चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी ४६ वर्षीय वीरेन्द्र रायलाई पनि नियन्त्रणमा लिएर कारबारही पक्रिया बढाएको छ ।

दुवैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सोमबार नै १० दिनको म्याद लिएर थप अनुसन्धान बढाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका वीरेन्द्र पूर्वराज्यमन्त्री रायको जग्गाका सँधियार हुन्। पूर्वराज्यमन्त्री रायले आफ्नो जमिन मिचेर घर बनाएको तथा अन्य थप जग्गाहरू पनि मिचेको भन्ने आधारमा हत्या योजना बनाएको अनुसन्धानबाट खुलेको छ। एक महिनाअघि राम उजैनसँग मृतक रायको जमिनको नक्सा मगाएर वीरेन्द्रले फोटो भिडियो खिचेको प्रहरीले पत्ता लगाएको छ।

प्रहरीका अनुसार वीरेन्द्रले घटना हुनु केही दिनअघि मात्र पूर्व राज्यमन्त्रीको हत्या गरे नगद दुई लाख रुपैयाँ दिने र व्यवसाय गर्न फर्मसमेत बनाइदिने आश्वासन दिएर फकाएपछि आफूले हत्या गरेको रामउजैनले बयानमा बताएका छन् ।

पूर्वराज्यमन्त्रीका अगाडि बोल्न नसक्ने र छोराहरू पनि बाहिरै बस्ने भएकाले उनको हत्या गरेपछि कोही पनि नआउने अनुमान गर्दै मिचिएको भनिएको जग्गाजमिन निकाल्न सक्ने आशासहित हत्या योजना बनाएको अभियुक्तद्वयले दिएको बयानबाट खुलेको छ।

वीरेन्द्रले उक्साहट र प्रलोभन दिएपछि हत्या भने राम उजैन एक्लैले गरेको अनुसन्धानबाट खुलेको छ। पूर्व राज्यमन्त्री राय निदाएको मौका छोपेर गत साउन ७ गते मध्यरातमा राम उजैनले धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि राम उजैनले नै राति प्रहरी तथा गाउँलेहरुलाई खबर गरेर घटनाबारे जानकारी दिएका थिए। यसअघि राम उजैनले प्रहरीलाई घटना भएको राति ९ बजेतिर अन्य तीन जना नचिनेका मान्छे आएपछि आफू सुत्न एकतले घरको छतमा गएको र मध्यरातमा उठेर हेर्दा पूर्वराज्यमन्त्री रायको हत्या भएर मृत अवस्थामा देखेको बताएका थिए।

साउन ८ गते बिहान धनुषाको ढल्केबरबाट ल्याइएको कुकुरले घटनास्थलभन्दा २५ मिटर पर बाँसको झ्याङबाट रगत तथा कपाल लागेको फलामको धारिलो हतियार फेला पारेको थियो।

घटनालगत्तै राम उजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाउँदा निरन्तर बयानमा कुराहरू बाझिएपछि पोलिग्राफ मेसिनबाट उनीसहित अन्य केही व्यक्तिहरूको समेत परीक्षण गराइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

घटनाको तेस्रो दिनपछि मात्र पूर्वराज्यमन्त्री रायको हत्या गर्दा राम उजैनले लगाएको सेतो गञ्जी च्यातेर तीन वटा पोको पारेर बारीछेउको बाटोतर्फ फालिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो। त्यसपछि भने प्रहरीले पूर्वराज्यमन्त्री रायको हत्या राम उजैनले नै गरेको यकिनसहित थप अनुसन्धान बढाएको थियो।

सम्बन्धित समाचार

सबै