
जनकपुरधामः धनुषामा फोहोर उठाउने विषयमा विवाद हुँदा एक जनाको हत्या भएको छ।
धनुषा प्रहरीका अनुसार हत्या हुनेमा सिरहा नगरपालिका वडा नम्बर ३ निवासी राकेश कुमार बर्मा रहेका छन्।
फोहोर उठाउने विषयमा विवाद हुँदा ज्यालादारीमा काम गर्ने अर्का कर्मचारी प्रकाश यादवले बेल्चाले प्रहार गर्दा बर्माको मृत्यु भएको धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए।
उनका अनुसार दुवै जनाबीच हिजो शुक्रबार बिहान नेपाल आयल निगमको डिपोमा विवाद भएको थियो। धनुषा क्षिरेश्वरनाथ नगरपालिकास्थित नेपाल आयल निगममा ज्यालामा काम गर्ने यादवलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
उनी धनुषा नगरपालिका वडा नम्बर ३ निवासी रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका यादवसँग घटनाबारे सोधपुछ चलिरहेको धनुषा प्रहरीले जनाएको छ। धनुषा प्रहरीका अनुसार मृतक पूर्व पत्रकार पनि थिए।
घटनास्थलमा पुगेको प्रहरीले शवको मुचुल्का उठाउने काम गरिरहेको धनुषा प्रहरी प्रमुख तिवारीले बताए।