
सोम दियाली/ईश्वरपुर : भनिन्छ काम भनेको सानो या ठुलो भन्ने नै हुँदैन । तर हाम्रो समाजमा कतिपय कामहरु छन् जुन काम गर्न मानिसहरु हिचकिचाउने गर्दछन् । ती मध्येको एक हो चटपटे पानीपुरी व्यवसाय । चटपटे पानीपुरी खाँदा मिठो मानेर खाने गरिए पनि यही पेशा गर्न भने धेरै मानिसहरुलाई राम्रो नलाग्न सक्छ । तर हामीले सानो ठानेको यही व्यवसायले कतिको रोजीरोटी चलेको मात्रै छैन्, धेरैलाई मालामाल समेत बनाई सकेको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिकाको वडा नम्बर ८ खाल्टे बजारका रमेश साह पनि चटपटे र पानीपुरी बेचेर परिवार पाल्ने मध्येमा पर्छन्।
रमेशको ठेला घर नजिकैको खाल्टे बजार दैनिक जसो लागिरहन्छ । ठेलामा उनले चटपटे र पानीपुरी बेची रहनुभएको देख्न सकिन्छ । चटपटे पानीपुर बेचेर उनले दैनिक ८ सय देखि १ हजार रुपैयाँसम्म आम्दानी गर्ने गर्छन्।
हामी रमेशको ठेलामा पुग्दा पानी परिरहेको थियो । उनी एउटा सानो झुपडीमा ओत लागिरहेका थिए। पानी परिरहेकोले कोही पनि ग्राहक उनको ठेला वरीपरी थिएनन् । साँझ पनि पर्न लागि सकेको थियो । पानी परिरहेकोले हामीपनि रमेश ओत लागेकै झुपडी मुनि ओत लाग्न पुग्यौं । यतिकै हामीले उनीसँग उनको अनुभव सोध्यौं ।
उनका अनुसार सम्पतिको नाममा थोरै घडेरी र एउटा सानो घर बाहेक अरु जायजेथा केही पनि छैन्। र आम्दानीको अर्को भरपर्दो स्रोत पनि छैन । काम नगरी खान नपुग्ने रमेशले एक दिन मात्रै ठेला नचलाउने हो भने चुल्होमा आगो बल्न मुस्किल हुन्छ । दिनभरी बस्दा त्यही आठ/दश सय कमाई हुन्छ । त्यही लिएर उहाँ घर फर्कन्छन् र त्यही पैसाले नून, तेल, सामल तुमलको जोहो गर्छन् ।
छोटो बसाईमा रमेशले हामीलाई धेरै कुराहरु बताए । ६ वर्षजति विदेश पनि बसेर फर्केका रमेशले विदेशमा सिसा कम्पनीमा काम गरे । महिनामा जसोतसो ३०/३५ हजार जति बच्थ्यो । तर दुर्भाग्य कामकै सिलसिलामा लडेर उहाँको दुबै खुट्टाको गोलीगाँठा मुनि भाँचियो । भारी काम गर्न नसक्ने भएपछि उनि नेपाल फर्के ।
भारी काम गर्न नसक्ने भएपछि फेरी पनि विदेश जाने उनको चाहना पुरा भएन। अब बाच्नका लागि केही न केही गर्नैपर्छ भन्ने लागेर उनले आफ्नो शरीरलाई खासै भार नपर्ने र दुई पैसा पनि देख्न पाउने काम चटपटे र पानीपुरी नै बेच्ने मनसाय बनाए। अलिअलि पैसा सरसापट गरेर १५-१६ हजारमा एउटा ठेला बनाए र घर नजिकैको खाल्टे चोकमा चटपटे बेच्न थाले।
विस्तारै उहाँको चटपटे पानीपुरी खान आउनेहरु बढ्न थाले । उनको कमाई राम्रो हुँदै गयो । महिनामा ३०/३५ हजार चटपटे पानीपुरीबाटै बचाउन थालेपछि भने रमेशलाई गरे नेपालमै कमाउन सकिने रहेछ भन्ने लाग्यो ।
त्यसपछि उनले यहीँ व्यवसायलाई निरन्तरता दिन थाने । उहाँले चटपटे पानीपुरी बेच्न थालेको ६/७ वर्ष भयो । उनले यही चटपटे पानीपुर बेचेर परिवार पालन पोषण गरेका छन्।
त्यसैले सम्भावना खोज्न टाढा जानै पर्दैन । मेहेनत गरे जहाँ बसेर पनि जे गरेर पनि राम्रो गर्न सकिन्छ ।