सिराहा: सिरहाका विभिन्न स्थानमा सञ्चालन भइरहेका अवैध यौनधन्दा र मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ। तीन अलग–अलग घटनामा संलग्न उनीहरूविरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डीएसपी रमेशबहादुर पालका अनुसार पहिलो घटना लहान नगरपालिका–८ मा घटेको हो। त्यहाँ बसोबास गर्दै आएका दिलीप साह र उनकी पत्नी सुनिता साहले तीन महिलालाई फोनमार्फत सम्पर्क गरी आफ्नै घरमा बोलाएर आर्थिक प्रलोभनमा पारी यौनधन्दामा लगाएको आरोप छ। उनीहरूलाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
दोस्रो घटना लहान–३ स्थित अस्पताल चोकमा रहेको ‘अनलाइन होटल एण्ड लज’सँग सम्बन्धित छ। उक्त होटलकी सञ्चालिका अर्चनाकुमारी चौधरीले चार महिलालाई होटलमा ल्याई सप्तरीका तीन युवासँग मिलेर यौनधन्दामा लगाएको आरोप प्रहरीले लगाएको छ। यस प्रकरणमा संलग्न चारै जनालाई सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
तेस्रो घटना धनगढीमाई नगरपालिका–११ स्थित ‘खुश्बु होटल एण्ड लज’मा भएको प्रहरीले जनाएको छ। होटल सञ्चालक गुज्जेश्वर साहले दुई महिलालाई होटलमा बोलाएर अर्का एक व्यक्तिसँग मिलेर जबरजस्ती यौनधन्दा गराएको दाबी गरिएको छ। यस घटनामा संलग्न व्यक्तिहरूलाई पनि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
प्रहरीले पीडित महिलाहरूको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूको पहिचान गोप्य राखिएको जनाएको छ। पछिल्लो समय होटल र निजी घरलाई आधार बनाएर यस्ता अवैध गतिविधि बढ्दै गएको सूचनापछि निगरानी कडा पारिएको डीएसपी पालले बताए।