भारत । भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा एक निजी विद्यालयकी शिक्षिकाको कुटाइबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।
होमवर्क नगरेको भन्दै शिक्षिकाले कुटपिट गरेपछि बालक कक्षाकोठामै बेहोस भएर ढलेका थिए । यो दुःखद घटना विशाखापट्टनमको वन टाउन क्षेत्रमा रहेको ‘लिटिल गार्डन्स स्कुल’ मा बिहीबार भएको हो ।
विद्यालयको युकेजीमा अध्ययनरत मृतक बालकको पहिचान प्रणय तेजाको रूपमा भएको छ । सामाजिक सञ्जालमा कक्षाकोठाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि मात्र यो घटना बाहिर आएको हो ।
सीसीटीभी फुटेजमा होमवर्क नगरेको निहुँमा बालकलाई सजाय दिँदै लज्जित बनाउन शिक्षिकाले उनको कपडा फुकाल्न खोजेको र थप्पड हानेको दृश्य देखिन्छ। शिक्षिकाले थप्पड हानेलगत्तै बालक उनको काखमा ढलेका थिए । त्यसपछि उनलाई तत्काल किङ जर्ज अस्पताल पुर्याइएको भए पनि चिकित्सकहरूले मृत घोषित गरिदिए ।
मृतक बालकका परिवारजनले शिक्षिकाले कुटपिट गर्दा बालक अत्यधिक तर्सिएका कारण हृदयाघात भएर मृत्यु भएको आरोप लगाएका छन् ।
घटना सार्वजनिक भएपछि स्थानीय प्रहरीले यसबारे औपचारिक अनुसन्धान सुरु गरेको छ । प्रहरी अधिकारीहरूले सीसीटीभी फुटेजको अध्ययन गर्नुका साथै बालकमा पहिलेदेखि नै कुनै स्वास्थ्य समस्या थियो वा थिएन भन्ने कोणबाट पनि जाँच गरिरहेका छन् ।
प्रहरीले बालकको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुने जनाएको छ । -एजेन्सी