बारा । बारामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पचरौता नगरपालिका–६ स्थित रामनगर टोल निवासी ४५ वर्षीय राजकिशोर प्रसाद यादवलाई ५५ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार राति करिब १०ः४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव साहको नेतृत्वमा खटिएको गस्ती टोलीले विशेष चेकजाँच गरिरहेको थियो।
सोही क्रममा पचरौता नगरपालिका–६ मा शङ्कास्पद अवस्थामा फेला परेका यादवको साथबाट उक्त परिमाणको गाँजा बरामद भएको हो।
लागुऔषधको ओसारपसार भइरहेको गोप्य सूचना र शङ्काका
आधारमा गरिएको चेकजाँचका क्रममा यादव गाँजासहित पक्राउ परेका हुन्।
हाल पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतमा राखिएको छ। बरामद गरिएको गाँजाको स्रोत र यसको गन्तव्यका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।