जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाबाट विगत १० दिनदेखि बेपत्ता रहेका ७ वर्षीय बालक साकेत झा मृत अवस्थामा फेला परेका छन्।
नगराइन नगरपालिका–७, देवडिहा निवासी अजय झाका ७ वर्षीय छोरा साकेतको शव घरभन्दा करिब साढे दुई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार गत कात्तिक ४ गते विजयादशमी (टीका) को दिन बालक घरबाटै अचानक बेपत्ता भएका थिए। बालक बेपत्ता भएदेखि नै परिवारजन र गाउँले चिन्तामा थिए।
बालक हराएपछि परिवार र प्रहरीको टोलीले निरन्तर खोजी कार्य जारी राखेको थियो। खोजतलासका क्रममा प्रहरीले आसपासका गाउँबस्ती, नजिकका पोखरी तथा झाडीहरूमा समेत खोजी गरे पनि बालकको कुनै अत्तोपत्तो पाउन सकेको थिएन।
अन्ततः शनिबार बालकको शव धानखेतमा फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का उठाउनुका साथै विस्तृत अनुसन्धान थालेको छ।
बालकको हत्या गरेर धानखेतमा फालिएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको र घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए।